तनाव र म
तनाव भनेको चूनौतिपूर्ण अवस्थामा तपाईको शरीरले जनाउने एक किसिमको प्रतिक्रिया हो जसले तिनीहरूको पहिचान गरी त्यसको सामना गर्नका लागि उर्जा र शक्ति तयार गर्नमा झकझकाउँछ । धेरै बालबालिका र किशोरकिशोरीहरूलाई तनाव खराब कुरा हो भन्ने लाग्न सक्छ तर यो आफैमा खराब भने हुँदैन । कहिलेकाँहि कुनै काम पूरा गर्न वा काम राम्रोसँग गर्नका लागि आफैलाई प्रेरित गर्न पनि तनावको भूमिका हुन्छ ।
जब हामीमाझ अनगिन्ती चुनौतिहरू खडा हुन्छन् तर त्यसको समाधानका लागि हामीसँग आवश्यक स्रोतहरू भने हुँदैनन् तब भने तनावले एउटा समस्याको रुपम लिने गर्छ । यस्तो बेला हामी अक्सर आफु “तनावमा रहेको” वा “टेन्सन भएको” भन्ने गर्छौ ।
तनावले तपाईको सोच्ने, महसुस गर्ने र काम गर्ने तरिकालाई नै परिवर्तन गर्न सक्दछ ।
तनावका लक्षणहरू
तनावले तपाईको भावनाहरूमा निम्न किसिमका परिवर्तनहरू ल्याउन सक्दछ ः
- छटपटी हुने,
- मुडी हुने,
- रुन मन लाग्ने,
- दुःखी हुने,
- झट्ट रिसाउने,
- डिप्रेस्ड हुने वा
- निराश हुने
तनावले हाम्रो शरीरमा पनि असर गर्छ जस्तै ः
- टाउको दुख्ने
- काँधहरू दुख्ने
- पेट वा बङ्गारामा दुखाई महसुस हुने
- शरीर चिसो भइरहने वा कुनै संक्रमण देखिइरहने
- ह्वात्तै तौल बढ्ने वा घट्ने
- झुम्म पारिरहने वा
- श्वासप्रश्वास छिटोछिटो हुने
तनावको कारण हामीले सोच्ने तरिकामा पनि परिवर्तन आउँछ जस्तै ः
- एकाग्र हुनमा समस्या हुने
- स्मरण शक्तिमा ह्रास आउने
- सामानहरू मिलाएर राख्न नसक्ने
- योजना बनाउन नसक्ने वा
- निर्णय गर्न नसक्ने
तनावपूर्ण अवस्थामा अक्सर समस्याहरूभन्दा बाहिर सोच्न हामीलाई गाह्रो महसुस हुने गर्दछ । अधिकांश समय समस्याकै बारेमा सोचेर व्यतित हुने गर्छ । सामाजिक सञ्जाल चलाउँदै गर्दा पनि मस्तिष्कमा त्यहि कुरा घुमिरहन्छ ।
तनावले गर्दा हाम्रो दैनिकीमा पनि परिवर्तन आउँछ जस्तै ः
- आफुलाई मनपर्ने क्रियाकलापहरूमा सहभागी हुन छोड्नु
- विद्यालय जान मन नपराउनु, वा
- ध्यान दिएर पढ्न छाड्नु ।
तनावपूर्ण अवस्थामा रहँदा हामी जे काम गरे पनि ज्यादतीपूर्ण तरिकाले गरिरहेका हुन्छौं जस्तै कि त हिडेको हिड्यै गर्छौ या खाटबाट उठ्ने नाम नै लिदैनौं । सुत्ने बानीलाई पनि यसले असर पार्दछ, या त एकदमै कम सुत्छौं कि त एकदमै अत्याधिक समय निदाएरै बस्ने गर्छौ । बजारमा सहजै पाइने दुखाई कम गर्ने औषधीको प्रयोग गर्ने वा मद्यपानको सेवन वा लागुपदार्थको दुव्र्यसन पनि केहि व्यक्तिहरूले गर्ने गर्दछन् । उनीहरू अरु मानिसप्रति आक्रामक तरिकाले वा सरसमानलाई हिंस्रक तरिकाले विध्वंस गर्ने गरी पनि प्रस्तुत हुने गर्दछन् ।
तनावका कारणहरू
बालबालिका र किशोरकिशोरीहरूमा धेरै कुराहरूले दबाबको सिर्जना गर्दछ । जसमा निम्न लिखित कुराहरू पनि पर्दछन् ः
- विद्यालय, गृहकार्य, परिक्षा र साथीहरूहरूसँग घुलमिल हुनको समस्या,
- जीवनमा आउने विभिन्न परिवर्तनहरू जस्तै पढाइमा स्तरोन्नती, कलेज जाने या काम गर्न थाल्नु,
- ज्यादै व्यस्त रहनु,
- आफु कुनै काम वा अवस्थाका लागि तयार नभइसकेको महसुस हुनु वा के कसो गर्ने भनेर भेउ नपाउनु ।
यस बाहेक राम्रोसँग खानपान र निन्द्रामा ध्यान नदिनु, कुनै किसिमको मानसिक आघात परेका घटनाहरू, वा अवस्थामा आएको बदलावहरू जस्तो कि परिवारका कोहि सदस्य या साथीभाइको मृत्यु आदि जस्ता कारण पनि व्यक्ति तनावमा रहन सक्दछ ।
यस्तो भएमा के गर्न सकिन्छ त ? कृपया हामीले उपलब्ध गराएका निम्न स्रोतहरूको अध्ययन गर्नुहोस् ः