Common mental health questions.png

एन्जाइटी

हामीलाई मानसिक रुपमा केहि नराम्रो हुन लागेको वा कुनै समस्या वा खतरा भएको जस्तो लागेमा आउने एक प्रतिक्रियालाई हामी एन्जाइटी भन्छौं । तसर्थ यसलाई स्वस्थ प्रतिक्रिया पनि भनिन्छ। जब हामी छटपटाउँछौं तब हामीमा शारीरिक र मानसिक दुबै किसिमको प्रतिक्रियाहरू आउन थाल्दछ जस्तै डर लाग्नु, तर्सनु, नर्भस हुनु, अप्ठेरो स्थितिमा भएको पाउनु आदि । शारीरिक रुपमा हाम्रो श्वासप्रश्वास र मुटुको धड्कन तेज हुन जान्छ जसकारण पसिना आउने र तनावको सिर्जना पनि हुन्छ।

किशोरावस्था र युवावस्थामा एन्जाइटी सामान्य प्रक्रिया हो किनकी यससमय उनीहरूले जीवनमा, आफ्ना सम्बन्धहरूमा नयाँ परिवर्तन, नयाँ अनुभवहरू र चूनौतिहरूको सामना गरिरहेका हुन्छन् । यस्तो बेला तनावपूर्ण अवस्था हुने र समय आफ्नो नियन्त्रणमा नभएको महसुस हुन्छ । यसबेला छटपटी हुने सामान्य कुरा हो ।

जब कुनै सम्भावित जोखिम वा चुनौतिहरू बेगर एन्जाइटी हुन्छ भने तब मात्र त्यो समस्या हो । त्यसैगरी यदि एन्जाइटीले गर्दा तपाईको आफ्नो दैनिकीमा समस्या भइरहेको छ भने त्यतिबला पनि यो समस्या हो ।

यस्तो बखत कुनै सहयोग नपाइएको खण्डमा व्यक्तिलाई प्यानिक अटेक वा शरीरको पीडादायि प्रतिक्रिया पनि हुन सक्छ । यसका लक्षणहरूमा मुटुको धड्कन तेज हुने, श्वास फेर्न गाह्रो हुने, झुम्म हुने, क्यै गर्न नसकिने बनाउँने आदि पर्दछन् । यस्तो बेला व्यक्तिमा आफुलाई हृदयघात भएको वा लौ अब म मर्न लागेँ भन्ने जस्ता भावनाहरू पनि पैदा हुन सक्दछन् । यस्ता प्यानिक अट्याक पीडादायि भएपनि हाम्रो मृत्यु भने हुँदैन ।

एन्जाइटीको सामना गर्न केहि सुझावहरू

जब तपाई एकदमै चिन्तित हुनुहुन्छ तब सबैभन्दा पहिले आफुमा कस्तो प्रतिक्रिया आइरहेको छ त्यसको पहिचान गर्नुहोस् । चिन्ता एक साधारण मनोभाव हो, जुन हामी विभिन्न समयमा महसुस गर्न सक्छौं । यस्तो अवस्थामा बढी सोचेर आफुलाई कष्ट दिनु उचित हुँदैन । बरु तपाईले निम्न कदम चाल्न सक्नुहुन्छ ः

  • आफुलाई विश्वास लाग्ने कसैसँग आफ्नो मनको भाव साट्नुहोस् र आफुलाई किन त्यस्तो महसुस भइरहेको होला, के कारणले गर्दा त्यस्तो महसुस हुन्छ भनी त्यसको खोजि गर्नुहोस् । यसरी कारण पहिल्याउने क्रममा के कारण हो त्यसलाई शब्दमा लेख्ने गर्नुहोस् । कहिलेकाँहि त्यस्ता कुराहरू हामीलाई सानो वा वाहियात जस्तो लाग्न सक्दछन् तर शाब्दिक रुपमा व्यक्त गर्न भने नछोड्नुहोस् । यसो गर्नाले हामीलाई हाम्रो भावना र हामीले महसुस गरेको कुरा चिन्न सजिलो हुन्छ ।
  • त्यस्ता कामहरूमा आफुलाई संलग्न गराउनुहोस् जसले तपाईको शरीर र मस्तिष्कलाई आराम दिन्छ जस्तै व्यायाम गर्ने वा आफुलाई मनपर्ने क्रियाकलाप गर्ने आदि । कहिलेकाँहि आफुलाई मनपर्ने गीत ठूलो आवाजमा गाउँदा पनि मुड फ्रेस हुन्छ !
  • लामो र गहिरो श्वास लिने तरिका सिक्नुहोस् र त्यसको अभ्यास गर्नुहोस्।
  • आफुलाई तनाव दिने वा चिन्तित तुल्याउने काम कुराहरूलाई एकैपटक चटक्क नछोड्नुहोस् बरु आफ्नो भरपर्दो कसैको साथ लिएर बिस्तारै बिस्तारै त्यसको सामना गर्नुहोस् । सुरुमा सानो लक्ष्य लिनुहोस् र त्यसको प्राप्तिपछि त्यो भन्दा अलिक गाह्रो गर्दै गर्दै प्रक्रियालाई अघि बढाउ्रँदै जानुहोस् ।
  • आफुलाई चिन्ता दिने कुराहरूसँग जुझ्नका लागि तपाईले गरेका प्रयासहरूलाई सधैँ याद राख्नुहोस्, चाहे तपाई त्यसमा केहि मात्रामा मात्र सफल हुनु भएको किन नहोस् । डरको सामना गर्नु चानचूने कुरा होइन !
  • तपाई जस्ता कैयन् किशोरकिशोरीहरू पनि यो उमेरमा यस्तै अवस्थाको सामना गरिरहेका हुनसक्दछन् र यो उमेरमा यसो हुनु स्वभाविक पनि छ भन्ने कुरालाई नबिर्सनुहोस् । वास्तवमा यो भनेको त हाम्रो हुर्कने, समस्याहरूको सामना गर्ने र वयस्कअवस्थामा जाने प्रक्रियाकै पाटो हो ।
  • यदि तपाईको एन्जाइटीको अवस्था धेरै नै जटिल छ भने विद्यालयका मनोपरामर्शदाता, वा अस्पताल या उपलब्ध हेल्पलाइनको मद्दत लिन सक्नुहुन्छ ।
अघिल्लो