Keeping mentally healthy - WT - 86 by 86 copy-01.png

मानसिकरुपमा स्वस्थ रहने बारे ः व्यक्तिगत हेरचाहका सुझावहरू

आफ्नो मानसिक स्वास्थ्यको अवस्थाबारे सजग हुन र त्यससँग जुझ्ने क्षमता बढाउनका लागि तपाई विभिन्न कार्यहरू गर्न सक्नुहुन्छ । यहाँ हामीले केहि सुझावहरू प्रस्तुत गरेका छौ ः


आफ्नो शरीर, मन र मस्तिष्कलाई आराम दिने खालका कार्यहरूमा संलग्न हुनुहोस् ।


आफ्नो शरीरको ख्याल राख्नुहोस् । शारीरिक कसरतले हामीलाई उर्जा दिन्छ जसले हामीमा सकारात्मक उर्जा भर्नुका साथै तनावबाट मुक्त हुन सहयोग गर्छ । जब हामी शारीरिक रुपले तन्दरुस्त हुन्छौं यसले हामीलाई कुनै पनि कठिन अवस्थाको सामना गर्नका लागि शारीरिक र मानसिक रुपमा तयार गर्दछ ।

सधै सक्रिय रहनुहोस् दिनको ६० मिनेट सक्रिय रहने अभ्यास गर्नुहोस् । एकैपटक जतिबेला पनि सक्रिय भइहाल्नु पर्छ भन्ने छैन । दिनमै पनि कसरतका लागि विभिन्न समय छुट्याउन सक्नुहुन्छ । बाहिर जाने, दौडने, हिँडडूल गर्ने, साइकल चलाउने वा अन्य कुनै खेल खेल्न सक्नुहुन्छ । आफ्नो शरीरलाई गलाउने गरी हरेक दिन व्यायाम गर्नुपर्छ भन्ने छैन। तर बाहिर जानु भन्नुको अर्थ हो प्राकृतिक कुराहरूको सामिप्यताले हाम्रो मानसिक स्वास्थ्यलाई मजबुत बनाउँछ भन्ने कुरा त प्रमाणित नै भइसकेको छ ।

  • यदि घरभित्रै बस्न मन छ भने तपाई कोठामा नृत्य गर्ने, शरीर तन्काउने वा घरका काममा संलग्न भएर परिवारका सदस्यहरूलाई सहयोग पनि गर्न सक्नु हुन्छ ।
  • व्यायामको क्रममा आफुसँग कोहि साथी पनि भयो भने यसलाई निरन्तरता दिन रमाइलो हुन्छ ।
  • सम्भव भएसम्म स्वास्थ्यकर ताजा खाना मात्र खानुहोस् ।
  • हरेक दिन पूरा निन्द्रा सुत्नुहोस् । हरेक दिन ८ घण्टा सुत्नुहोस् – अझ सम्भवभए त ९ घण्टा !
  • कहिलेकाँहि हामीलाई अल्छी लाग्न सक्छ, कहिले दिक्क महसुस भइरहेको हुन्छ । तर जे जस्तो भए पनि सरसफाई गर्न, दाँत माझ्ने, कपाल कोर्ने र चट्ट पारेर लुगा लगाउन भने छोड्नुहुन्न ।
  • लामो र गहिरो श्वास कसरी लिने भन्ने जान्न र त्यसको अभ्यास गर्न यहाँ जानुहोस् । - कसरी पत्ता लगाउनुहोस्

आफुलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा पत्ता लगाउने तरिका


आफ्नो मनको भावहरू बारे थाह पाउनु ज्यादै नै महत्वपूर्ण हुन्छ । किशोरावस्थाको समयमा हामीमा एकैपटक धेरै खाले भावहरू आउने गर्दछन् । एकै दिनमा हामी दुःखी, दिक्दार, उत्साहित र प्रेमको अनुभूत गर्न सक्दछौं । जबजब मनका आउने यस्ता भावनाहरू अतिशयोक्ति रुपमा प्रकट हुन थाल्छ त्यस्तो बेलामा तपाईलाई कस्तो महसुस भइरहेको छ त्यो कुरा जान्ने र त्यसको नाम दिने बानी बसाउनु होस् । कतिपय अवस्थामा आफुले महसुस गरिरहेको कुराहरू लेख्नाले पनि हामीलाई राहतको महसुस हुन्छ । जति मनमा आउने भावहरूको हामी पहिचान गर्न सफल हुन्छौं त्यति हामी त्यसलाई नियन्त्रण गर्न र ती भावहरूले हामीलाई नियन्त्रण गर्नबाट जोगिन सक्दछौं ।


सकारात्मक विचार, सकारात्मक भावहरू


कुनै पनि अवस्थामा हामीले के सोच्छौ भन्ने कुराले हाम्रो मनोभावनाहरूलाई पनि प्रभाव पारिरहेको हुन्छ । जब हामी कुनै अवस्थामा नकारात्मक कुरा मात्र सोच्दछौं तब हामीले खराब महसुस गरिरहेका हुन्छौं । अनी जब हामी खराब महसुस गर्छौ त्यससमय हामीले मात्र नकारात्मक कुराहरू देख्ने गर्दछौं । यो एक दुःखदायि चक्र हो !

हामी सधैँ सकारात्मक नहुन पनि सक्छौं । तर कुनै पनि अवस्थामा त्यसका सकारात्मक कुराहरूमा बढी जोड गर्नाले हामीमा आउने नकारात्मक भावहरूलाई त्यसले कम गर्नमा मद्दत गर्छ र समस्याको समाधानतर्फ हामीलाई उन्मुख गराउँछ ।

क्रियाकलाप ः सकारात्मक सोचाई // जो मानिसहरू सकारात्मक रुपमा सोच्छन् उनीहरू आफुले बढी खुशी महसुस गर्ने, चिन्ता र छटपटी कम महसुस गर्ने बताउँछन् । हरेक दिनमा सुत्नु अघि १० देखि १५ मिनेट किन सबै कुरा असल भइरहेका छन् भनेर सोच्ने गर्नुहोस् र त्यसको टिपोट गर्नुहोस् । कम्तिमा पनि ३ वटा कारणहरू पत्ता लगाउनु होस् । कारणहरू साधारण हुन सक्छन् जस्तो, “आज बिहान शिक्षकले मेरो प्रशंसा गर्नु भयो”, “मेरो साथीले मलाई मेरो कति धेरै वास्ता गर्दछन् भन्ने कुरा बताए” वा कुनै महत्वपूर्ण घटनाहरू, “म मेरो परिक्षामा पास भएँ !” किन र कसरी ती घटनाहरू घटे र त्यसका लागि तपाईले के कसरी मेहनत गर्नु भएको थियो त्यसको पनि पहिचान गर्नुहोस ।


दया र प्रेमको अभ्यास गर्नुहोस्


हाम्रो जीवनमा रमाइला दिन पनि आउँछन् र खराब दिन पनि हुन्छन्, हामी गल्ती पनि गर्न सक्छौं र सबै कुरामा निपुण नहुन पनि सक्छौं । यी सबै सामान्य कुराहरू हुन् भन्ने कुरा आफुले आफैलाई पनि बताउनु पर्छ । “सधै सबैभन्दा अघि हुनुपर्ने” कुरामा आफुलाई बढी दबाब नदिनुहोस् । जब तपाई कुनै समस्यामा पर्नुहुन्छ तब आफुप्रति प्रेमपूर्ण भाव राख्नुहोस्, आफ्ना बारेमा नकारात्मक तरिकाले व्याख्या गर्ने नगर्नुहोस् । बरु “सकारात्मक स्वःसंवाद” को अभ्यास गर्नुहोस्, जस्तै ः

“अहिले त मलाई गाह्रो भइरहेको छ तर क्यै छैन म यो सँग जुझिरहेको छु र एकदिन अवस्था परिवर्तन पक्कै हुन्छ ।”

“केहि नराम्रो भएको बेला मैले पनि नराम्रो महसुस गर्नु कुनै नौलो कुरो हैन, यो त सामान्य प्रतिक्रिया न हो ।”

तपाईको इच्छा शक्ति र समस्यामा पर्दा तपाईको पहिले गर्नु भएको मेहनतको अनुभवले तपाईलाई आउँदा समस्याहरूसँग जुझ्न मद्दत गर्दछ (यदि तपाईले सकारात्मक सोच राख्नु भएको खण्डमा यो प्रक्रिया तपाईलाई अझै सहज हुनेछ 😊)

के तपाईलाई थाह छ, अरुप्रति प्रेम दर्साउँदा यसले हामीलाई पनि खुशी बनाउँछ भनेर ? अरुलाई सहयोग गर्ने, प्रशंसा गर्ने र प्रेमपूर्ण व्यवहार गर्नाले यसले हाम्रो मानसिक स्वास्थ्यलाई बलियो बनाउँदछ । जब हामी कसैप्रति “कृतज्ञ” हुन्छौ वा कृतज्ञता व्यक्त गर्छौ त्यसबेला हामीले पाउने प्रतिक्रियालाई याद राख्नुहोस् – यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यलाई तन्दरुस्त राख्न मद्दत गर्छ ।


अवस्थालाई सामना गर्ने पीडादायि तरिकाहरूलाई इन्कार गर्नुहोस्


जब तपाई समस्यामा पर्नुहुन्छ त्यसबेला हामीले आफ्नो हेरविचार गर्नका लागि सही र असल तरिकाहरूको छनौट गर्नु ज्यादै महत्वपूर्ण हुन्छ । निम्न किसिमका कार्यहरू गर्नबाट आफुलाई जोगाउनुहोस् ः

  • मद्यपान सेवन,
  • धुम्रपान वा गाँजाको सेवन,
  • अत्याधिक खान खाने,
  • परिवार र साथीहरूबाट लुक्ने, वा
  • कुनै समस्याजन्य सम्बन्ध वा क्रियाकलापमा संलग्न हुने ।

माथि उल्लेखित कार्यहरूले तपाईको जीवनमा समाधानको साटो थप समस्याहरू निम्त्याउँछन् ।


सामिप्यता ! सामिप्यता ! सामिप्यता !


आफ्ना परिवार र साथीहरूसँग जतिसक्दो सम्पर्कमा रहिरहनु होस् । जब जब हामीलाई नरमाइलो महसुस हुन्छ तब हामी अक्सर गरेर सबैजनाबाट लुकेर बस्न खोज्छौं तर यो सही उपाय होइन । बरु यस्तो बेलामा त आफुलाई विश्वास गर्ने र सहयोग गर्ने व्यक्तिहरूसँग समय व्यतीत गर्नु बढी लाभदायक हुन्छ । बेलाबेलामा उहाँहरूलाई सम्पर्क गरिरहनु पर्दछ । कहिलेकाँहि हामीलाई आफ्ना कुराहरू भन्न मन लाग्दैन तर त्यस्तो बेलामा पनि आफुले विश्वास गर्ने मानिसहरूको नजिक रहँदा, उनीहरूसँग मिलेर कुनै काम गर्दा यसले हाम्रो मानसिक स्वास्थ्यलाई बलियो नै बनाउँछ । सामाजिक सञ्जाल, इमेल, फोन वा चिठ्ठीको माध्यमबाट उहाँहरूसँगको सम्बन्धलाई ताजा बनाइराख्नुहोस् । जब तपाईलाई कोहि व्यक्तिसँग कसरी कुरा अघि बढाउने भन्ने कुरामा दोधार हुन्छ तब उनीसँग बिताएका समयहरू सम्झन सक्नुहुन्छ ।

क्रियाकलाप ः तपाईको सहयोगी सञ्जाल क/// तपाईको जीवनका पाँचजना मानिसहरूको बारेमा सोच्नुहोस् । उनीहरू तपाईलाई कसरी तपाईको जीवनको बारेमा सोच्न सहयोग गर्दछन् ? उनीहरूको बारेमा सोच्दा तपाईलाई कस्तो महसुस हुन्छ ? तिनीहरूमध्ये पनि कोसँग बस्दा तपाईलाई एकदमै रमाइलो लाग्छ वा तपाईलाई राम्रो महसुस हुन्छ, सोच्नुहोस् । सम्बन्धहरू सबै एकैनासका हुँदैनन् । कोहिले के मा सहयोग गरिरहेको हुन्छ त कसैले के मा । कोहिसँग बस्दा हामीलाई रमाइलो लाग्छ त कोहिसँग हामी खेल्न मनपराउँछौं, कोहिसँग हाम्रा कुराहरू साट्न मनलाग्छ त कोहि हामीलाई हाम्रा कामहरू, गृहकार्य गर्नमा मद्दत गर्छन् । तपाईलाई आवश्यक परेको समयमा को को तपाईको सहयोग सञ्जालमा हुनसक्दछन् त्यसको बारेमा निक्र्यौल गर्नुहोस् ।


समस्यासँग जुझ्नुहोस्


जब हामी समस्यालाई वेवास्ता गर्न थाल्छौं तब समस्याहरूले हाम्रो मस्तिष्कमा झनै ठूलो घर गर्न सक्छन् । जब तिनीहरूले ठूलो रुप लिन्छन् तब हामी त्यससँग जुझ्न सक्दैनौं भनेर कमजोर महसुस गर्न थाल्दछौं जसकारण यसले हाम्रो सोचविचारलाई पनि असर पार्न थाल्छ । हामी हाम्रो समस्यासँग भाग्नु हुँदैन, बरु सामना गर्नुपर्छ ।

यदि तपाईले आफुले भोगिरहेको समस्याको कसरी समाधान गर्ने भनेर भेउ पाउनु भएको छैन भने तपाई यी उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ ः

  1. समस्याहरू लेख्नुहोस् ः यसो गर्दा जतिसक्दो स्पष्ट रुपमा लेख्नुहोस् ।
  2. मस्तिष्कमन्थन ः समस्या समाधानका जतिसक्दो धेरै उपायहरूबारे सोच्नुहोस् । हालको अवस्थामा ती उपयाहरू काम लाग्छन्, लाग्दैनन् भन्ने कुरा अहिलेलाई नसोच्नुहोस् । त्यसपछि त्यसका लागि अब तपाई के गर्न सक्नुहुन्छ र अरु को व्यक्तिले कसरी सहयोग गर्न सक्छन् भन्ने बारेमा पनि सोच्नुहोस् । सुझाव ः यदि तपाईलाई समाधानका उपायहरू सोच्नमा समस्या भएको खण्डमा यस्तो अवस्थामा कुनै साथीले तपाईसँग मद्दत माग्यो भने तपाई के भन्नुहुन्थ्यो भनेर आफैलाई प्रश्न गर्नुहोस् ।
  3. सहयोगी रणनीतिको छनौट ः आफुले सोचेका उपायहरूमध्ये आफ्नो समस्या समाधान गर्नमा कुन चैंँ उपाय सबैभन्दा धेरै काम लाग्छ त्यसको छनौट गर्नुहोस् । सुझाव ः सबैभन्दा उत्तम रणनीति भनेको त्यस्तो उपायहरू हुन जसको प्रयोगका लागि तपाईसँग यथेष्टमात्रामा स्रोतहरू हुन्छन् र त्यसको अवलम्बनका गर्नमा तपाई र तपाईका विवास पात्रलाई धेरै समस्या हुन्न ।
  4. कार्यायोजना ः समाधानका लागि कहिलेबाट र कसरी पहल गर्ने भन्ने बारेमा योजना तयार पार्नुहोस् । त्यसका लागि सम्भावित मिति र समय पनि तोक्नुहोस् । योजनाहरू लेखेर नै तयार पार्नुहोस् । सुझाव ः आफ्नो योजनाहरूबारे आफ्ना साथी र परिवारका सदस्यहरूलाई जानकारी दिदा यसले तपाईको योजनाको कार्यान्वयनमा तपाईलाई सहयोग पुग्छ ।
  5. पुनरावलोकन ः समस्या समाधानका लागि आफुले प्रयोग गरेको उपायले कस्तो प्रभाव पर्यो, तपाईले कसरी उपायको प्रयोग गर्नुभयो भन्ने बारेमा सोच्नुहोस् । यदि तपाईको उपायले समाधानमा कुनै योगदान दिन सफल भएन भने किन त्यसो हुन पुग्यो भन्ने बारेमा पनि सोच्नुहोस् । तपाईले पहिले बनाउनु भएको समाधानका सम्भावित उपायहरू पुनः एकपटक पल्टाउनुहोस् र बाँकी भएका मध्ये कुनै अर्को विकल्पको खोजि गर्नुहोस् ।
  6. बधाई ः सफल भए पनि नभए ता पनि सकारात्मक उर्जासहित समाधानतर्फ अग्रसर हुनु भएकोमा आफैले आफैलाई बधाई दिनुहोस् ।

कुनै निश्चित प्रकारको सहयोग आवश्यकता परेमा तल दिइएको खण्डमा हेर्नुहोस् ः


सहयोगको खोजि गर्नुहोस् र मनका कुरा व्यक्त गर्नुहोस्


सधैँ समस्याग्रस्त भावना, तनाव, डरत्रास र पीडाहरूसँग एक्लै लड्न सकिदैन । स्वः हेरचाहका विभिन्न सुझावहरूलाई मनन गर्दागर्दै पनि कैयन् अवस्थामा हाम्रा मनका भावहरूले हामीलाई जित्छन् । जसले गर्दा हामी डिप्रेसनमा पुग्ने वा छटपटाहटको महसुस गर्ने गर्छौ । यस्तो अवस्थामा पहिले हामीलाई रमाइलो लाग्ने कुराहरूमा रमाइलो लाग्न छोड्छ र आफुले सजिलै समाधान गर्न सक्छु भनेका अवस्थाहरूमा हामी आफुलाई कमजोर पाउन सक्छौं जसकारण आफैलाई पीडादिने किसिमका सोचहरूको हावी हुन सक्छ वा बाँचेर क्यै काम छैन भन्ने जस्ता सोचहरू आउन सक्छन् । यस्तो सोचाईहरू आउनु कुनै नौलो कुरा होइन तर तपाईमा यस्तो सोच आएको खण्डमा आफुलाई लज्जा अनुभूति हुनुपर्छ भन्ने पनि छैन बरु यदि तपाई यस्तो कुराहरू सोचिरहनु भएको छ भने चैं सहयोगको खोजि भने गर्नुपर्ने हुन्छ र आफुलाई विश्वास लाग्ने कसैसँग मनका कुराहरू बताउनु पर्छ । यदि आफ्नो नजिकमा कोहि आफुले विश्वास गर्ने मानिसहरू छैनन् भने आफु बसेको नजिक उपलब्ध परामर्श सेवामा सम्पर्क गरेर सहयोग लिन सक्नुहुन्छ ।

अघिल्लो अर्को