मानसिक स्वास्थ्य बारे सामान्य प्रश्नहरू
- मेरो मानसिक अवस्थाबारे म कसरी थाह पाउन सक्छु ?
- मलाई लाग्छ मेरो साथी डिप्रेसनमा छन् । उनलाई खराब लाग्न नदिई म कसरी उनलाई सहयोग पुर्याउन सक्छु ?
- मेरो परिवारको एक सदस्य मानसिक समस्यासँग जुझिरहेको छ । मलाई पनि त्यस्तो समस्या हुन सक्ने सम्भाविना कत्तिको छ ?
- मेरो मानसिक अवस्थाबारे अब भने मैले सहयोग लिनु पर्छ भनेर कसरी थाह पाउने ?
- मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिको अवस्थामा सुधार पनि हुन्छ ?
- कतै मानसिक समस्या भूत प्रेत र श्रापको कारण हुने त हैन ?
- के व्यायामले साँच्चै नै मानसिक अवस्थालाई बलियो बनाउन मद्दत गर्छ ?
- लाञ्छना भनेको के हो ? मानसिक अवस्था कमजोर भएका व्यक्तिको जीवनमा यसले कस्तो असर पार्छ ?
मेरो मानसिक अवस्थाबारे म कसरी थाह पाउन सक्छु ?
मानसिक अवस्थाबारे थाह पाउन सजिलो भने छैन किनकी यो भनेको हामी के सोच्छौं, महसुस गर्छो र के गर्छौ भन्ने कुराले निर्धारण गर्छ जुन परिवर्तनशील हुन्छ । जब हाम्रो मानसिक अवस्था बलियो हुन्छ तब हामी अन्य मानिसहरूसँग सजिलै घुलमिल हुन सक्छौं र कुनै पनि नयाँ र कठिन चुनौतिहरूलाई सहर्ष स्वीकार गर्दछौं । तर जब हाम्रो मानसिक स्वास्थ्यको अवस्था कमजोर हुन्छ तब यी कुराहरूसँग जुझ्न हामीलाई कठिन हुन्छ । जब हाम्रा विचार र भावनाहरूले रमाइलो लाग्ने कुराहरूबाट हामीलाई बञ्चीत गर्दछ र सबै ठिकै हुन्छ भन्ने सोचलाई कमजोर पार्दछ तब भने हामीमा मानसिक समस्या विकसित हुन थाल्दछ । जब हामीमा यस्तो समस्या देखिन्छ तब हामीले मानसिक स्वास्थ्यसम्बन्धी विज्ञको सहयोग लिनु पर्छ ।
मलाई लाग्छ मेरो साथी डिप्रेसनमा छन् । उनलाई खराब लाग्न नदिई म कसरी उनलाई सहयोग पुर्याउन सक्छु ?
प्रथमतः, आफ्नो साथीलाई आवश्यक परेको खण्डमा आफु सदैव सँगै रहने कुरामा ढुक्क हुन भन्नुहोस् । उनलाई आफ्ना कुराहरू बताउनका लागि दबाब नदिनुहोस् बरु उनले चाहेको अवस्थामा कुनै पनि बखत तपाईसँग कुरा गर्न सकिने बताउनु होस् । कुराकानीहरू गोप्य राखिने विषयमा पनि साथीलाई विश्वस्त बनाउनुहोस् ।
- साथीले व्यक्त गरेका कुराहरूको आधारमा कुनै पूर्वाग्रह नबनाउनु होस्, उनका कुराहरू तपाईलाई हास्यासपद नै किन नलागुन् । उनीहरूको भावनाको कदर गर्नुहोस् र उनको साथमा आफु भएको कुरा बताउनु होस् । उदाहरणका लागि ः
“ओ हो, तपाईको कुरा सुन्दा त यहाँलाई धेरै गाह्रो भइरहेको जस्तो लाग्यो”
“तपाईलाई चिन्तित बनाइराखेको कुरा म बुझ्न सक्छु” वा
“तपाईको कुरा सुन्दा तपाई अहिले ज्यादै दुःखी हुनुहुन्छ जस्तो छ ।” - यस्तो बेला उनलाई कसरी सहयोग गर्न सक्नुहुन्छ भनी सोध्नुहोस् र सामान्य भन्दा सामान्य कुरामा पनि साथ दिनुहोस् जस्तो कि सायद उनलाई एउटा यस्तो फिल्म हेर्न मन लागेको होला जुन तपाईलाई फिटिक्कै मनपर्दैन ।
- तिमी यसो गर, उसो गर भन्नुको साटो तपाईले यसरी आफ्ना कुराहरू भन्न सक्नुहुन्छ:
“यस विषयमा शिक्षकलाई भन्नुपर्ला भनेर कहिल्यै सोचेका छौ ?” वा
“तिमीलाई थाह छ, मनोपरामर्शका लागि टोल फ्रि नम्बर पनि उपलब्ध छ नी ?” - साथीसँग यसबारेमा कुरा गरिरहनु होस् । यदि साथीले कुनै प्रतिक्रिया नजनाएको खण्डमा नरिसाउनु होस् । धैर्य गर्नुहोस् र तपाई उनलाई सहयोग गर्नका लागि तत्परताका साथ बसिरहनु भएको कुरा साथीलाई अवगत गराउनु होस् ।
- कसैको हेरचाह गर्नु भनेको गाह्रो काम हो । यदि तपाईलाई तपाईको साथीले आफैलाई पीडा दिने कुनै काम गर्नसक्छ वा त्यस्तो अवस्थाको सामना आफु गर्न सक्दिन जस्तो लाग्छ भने कोहि विश्वासिलो वयस्क वा विज्ञको सहयोग लिनुहोस् ।
मेरो परिवारको एक सदस्य मानसिक समस्यासँग जुझिरहेको छ । मलाई पनि त्यस्तो समस्या हुन सक्ने सम्भाविना कत्तिको छ ?
तपाईको परिवारको कुनै सदस्यमा मानसिक स्वास्थ्यमा समस्या देखिएको छ भन्दैमा तपाईमा पनि देखिन्छ भन्ने हुँदैन । केहि अध्ययनहरूले यदि परिवारका कुनै सदस्यमा कुनै निश्चित प्रकारको मानसिक स्वास्थ्य अवस्था छ भने त्यस्तो अवस्था परिवारका अन्य सदस्यमा पनि हुन सक्ने कुरा उल्लेख गरेको छ । यसको खास कारण के हो भन्ने बारेमा हामीलाई अझैसम्म पनि थाह छैन । कुनै व्यक्तिमा मानसिक स्वास्थ्य समस्या हुन्छ वा हुँदैन भनेर कसैले पनि भन्न सक्दैन । आफ्नो राम्रोसँग हेरचाह गर्नाले तपाईको मानसिक स्वास्थ्य अवस्थालाई बलियो बनाउँछ र यसले सबैको भलो पनि हुन्छ ।
मेरो मानसिक अवस्थाबारे अब भने मैले सहयोग लिनु पर्छ भनेर कसरी थाह पाउने ?
जस्तो कि हामी सबै जीवनमा कहिले न कहिले बिरामी पर्छौ त्यसैगरी हामी मध्ये केहि भने आफ्नो मानसिक स्वास्थ्यलाई लिएर संघर्षरत हुन्छन् ।
यहाँ हामीले केहि लक्षणहरूको बारेमा उल्लेख गरेका छौं जसले तपाईलाई सहयोग आवश्यक पर्दछ भन्ने कु्रा जनाउँदछ ः
- केहि गर्न सक्दिन र मेरो जीवन मूल्यहिन छ भन्ने भावना – जीवनका सकारात्मक पक्ष देख्न नसक्नु वा आफु बरु जन्मदै नजन्मेको भए हुन्थ्यो भन्ने सोच
- विवाद र झैझगडामा परिरहनु
- सधैँभरी दुःखी भइरहनु, रिस उठिरहनु, चिन्ता भइरहनु
- एकोहोरो हुनु – कुनै पनि किसिमको भावना महसुस नगर्नु, खाटबाट उठ्न पनि नसक्नु वा आफुलाई रमाइलो लाग्ने काम गर्न नसक्नु
- मनका संवेदनाहरूमा एकदमै छिटो उचारचढावहरू आउनु
- आफुलाई शान्त राख्न नसक्नु र मनमा विभिन्न खालका विचारहरू खेलेको खेल्यै गरिरहनु ।
- खान्की सम्बन्धी व्यवहारमा परिवर्तन – भोकै बस्नु, चाहिनेभन्दा धेरै खानु, नखाएर बिरामी पर्नु
- आफ्ना भावनाहरू बिर्सन वा त्यसको सामना गर्नका लागि मद्यपान, लागुपदार्थ आदिको सहारा लिनु ।
- जानजानी आफुलाई पीडा दिने काम गर्नु
यदि तपाईले माथि उल्लेखित कुनै पनि किसिमका भावना, व्यवहारहरू अनुभव गरिरहनु भएको छ भने तपाईले सहयोगको खोजि गर्नुपर्ने हुन्छ । यसको अर्थ तपाईमा मानसिक स्वास्थ्य समस्या छ भन्ने नै होइन तर केहि सहयोगले तपाईलाई फाइदा हुन्छ ।
मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिको अवस्थामा सुधार पनि हुन्छ ?
हो, हुन्छ । अधिकाँश मानिसहरूमा मानसिक स्वास्थ्य अवस्थामा सुधार हुन्छ र कोहिसँग भने केहि अंश बाँकी रहन्छ । एकदमै कम व्यक्तिमा भने सुधारपश्चात पनि सोहि समस्या देखिन सक्दछ । ज्यादै न्यून मानिसहरू मात्र जीवनभर मानसिक स्वास्थ्य समस्या मै जीवन जीउन बाध्य हुन्छन् । सही तरिकाको उपचार पाएको खण्डमा मानसिक स्वास्थ्यमा सुधार भई बिना कुनै ठूलो समस्या व्यक्ति खुशीसाथ जीवनयापन गर्न सक्दछ ।
कतै मानसिक समस्या भूत प्रेत र श्रापको कारण हुने त हैन ?
मानसिक स्वास्थ्य समस्याको कारक कुनै धार्मिक, प्रेतआत्मा हो भन्ने कुरा हालसम्म पुष्टि भइसकेको छैन । मानसिक स्वास्थ्यमा समस्या आउनुका कारणहरू विभिन्न हुने गर्दछन् जस्तो कि हाम्रो पारिवारिक अवस्था, हाम्रा सम्बन्धहरू, शारीरिक स्वास्थ्य अवस्था र हामीले पाइरहने सहयोगहरू । कतिपय अवस्थामा जब मानिसहरू समस्यामा पर्ने गर्दछन् तब देवीदेवताको पूजा गर्ने जस्ता धार्मिक काममा संलग्न हुन्छन् तर मानसिक स्वास्थ्यको समस्या देखिएको खण्डमा हामीलाई फरक खालका सहयोगहरूको आवश्यकता पर्दछ । मानसिक स्वास्थ्य अवस्था वा समस्या भएको खण्डमा व्यवसायिक स्वास्थ्यकर्मी वा विज्ञको सहयोग लिनु पर्दछ ।
के व्यायामले साँच्चै नै मानसिक अवस्थालाई बलियो बनाउन मद्दत गर्छ ?
व्यायामले तपाईको मुड, एकाग्रता र उर्जालाई परिस्कृत गर्छ । यसो गर्नाले तपाईमा जीवनप्रति सकारात्मक दृष्टिकोण जागृत हुन्छ ।
नियमित व्यायामले गर्दा तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । पूर्ण निन्द्राले गर्दा तपाईको मूडमा पनि त्यसको प्रभाव पर्छ । व्यायामले गर्दा तपाईलाई आफ्नो शरीर र भावना आफ्नो नियन्त्रणमा भएको महसुस हुन्छ भने आफैप्रति खुशी महसुस पनि हुन्छ ।
लाञ्छना भनेको के हो ? मानसिक अवस्था कमजोर भएका व्यक्तिको जीवनमा यसले कस्तो असर पार्छ ?
लाञ्छना भनेको कुनै व्यक्तिमा अन्य व्यक्तिहरूभन्दा फरक कुरा देखिँदा गरिने विभेदपूर्ण व्यवहार र सोच हो जस्तै कसैमा मानसिक स्वास्थ्यको समस्या देखिएको आधारमा गरिने व्यवहार । अक्सर गरेर उक्त विषयको बारेमा जानकारी नहुँदा वा गलत सूचना प्रवाहले गर्दा उब्जेको त्रासको कारणले पनि मानिसहरू लाञ्छनापूर्ण व्यवहार गर्दछन् । यसको नतिजा स्वरुप मानसिक स्वास्थ्यमा समस्या देखिएका मानिसहरूलाई अरु मानिसहरूले असामान्य र मूल्यहिन सदस्य जस्तो ठानि समाजबाट बहिस्कृत गर्ने गर्दछन् । यसले गर्दा मानसिक समस्यासँग लड्दै गरेको व्यक्तिमा झनै लज्जाको भावना वृद्धि हुने र मानसिक स्वास्थ्यको अवस्था झनै नाजुक अवस्थामा पुग्ने गर्दछ । जसले गर्दा उनीहरू सहयोग माग्न, समाजिक कार्यहरूमा संलग्न हुन र एउटा खुशी जीवनयापन गर्नबाट बञ्चीत हुन पुग्दछन् ।