Layer 5

धेरै सोधिने प्रश्नहरू

  1. एमपक्स (एमपक्स) के हो ?
  2. एमपक्सका लक्षणहरू के के हुन् ?
  3. एमपक्स कसरी फैलिन्छ ?
  4. को एमपक्सको जोखिममा छ ?
  5. के समलिङ्गी पुरुष (गे), उभयलिङ्गी (बाइसेक्सुअल) वा पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुषहरूलाई एमपक्स सर्ने बढी जोखिम हुन्छ ?
  6. मैले कसरी आफू र अरूलाई एमपक्सबाट जोगाउन सक्छु ?
  7. एमपक्स र यौन क्रियाकलापबारे हामीलाई के थाहा छ ?
  8. मलाई एमपक्स भएको छ । अरू मानिसलाई सङ्‍क्रमण हुनबाट जोगाउन मैले के गर्न सक्छु ?
  9. एमपक्स भएको व्यक्ति पूर्ण रूपमा ठीक हुन के कस्तो हेरचाह आवश्यक हुन्छ ?
  10. एमपक्ससँग सम्बन्धित भएर व्यक्त गरिने हेय दृष्टिकोणहरूले किन अर्थ राख्छन् ?
  11. मेरो हेरचाहमा रहेका बालबालिकामा एमपक्स देखियो भने मैले के गर्नुपर्छ ?
  12. के एमपक्सको उपचार छ ?
  13. के एमपक्सका लागि खोप छ ?
  14. रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरू (एचआइभी भएका मानिसहरू सहित) एमपक्सका जटिलताहरू सामना गर्नुपर्ने उच्च जोखिममा हुन्छन् ?
  15. गर्भवती अवस्थामा एमपक्सका जोखिमहरू के के छन् ?
  16. मलाई विगतमा एमपक्स भइसकेको थियो । के मलाई फेरि एमपक्सले भेट्न सक्छ ?




एमपक्स (एमपक्स) के हो ?

एमपक्स (एमपक्स) भाइरसबाट हुने एक बिमारी हो । यो एक भाइरल सङ्‍क्रमण हो । मानिसहरूबीच खासगरी निकट सम्पर्कका माध्यमबाट यो फैलिन सक्छ । एमपक्स भएको व्यक्तिले छोएका वस्तु र विभिन्न ठाउँमा छुँदा निकट वातावरणबाट पनि यदकदा मानिसमा यो रोग सर्दछ । एमपक्स भाइरस केही जनावरहरूमा देखिएको अवस्थामा ती सङ्‍क्रमित जनावरहरूसँगको सम्पर्कमा पुगेका मानिसहरूमा पनि यो सर्न सक्दछ ।

विश्वभरका विज्ञहरूसँगको पटकपटकको छलफलपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एमपक्सको समानार्थीका रूपमा एमपक्स शब्दलाई उचित ठहर्‍याई यसको प्रयोग गर्न शुरू गरेको हो ।


एमपक्सका लक्षणहरू के के हुन् ?

एमपक्समा धेरैथरी सङ्केत वा लक्षणहरू देखिन सक्छन् । केही मानिसहरूलाई कम गम्भीर लक्षणहरू देखिँदा अरूमा भने गम्भीर समस्या विकास हुने र स्वास्थ्य संस्थाहरूबाट सेवा लिनुपर्ने वा हेरचाह गरिनुपर्ने हुनसक्छ । एमपक्सका सामान्य लक्षणहरूमा छालामा दाग देखिने हुन्छ । यी लक्षणहरू २ देखि ४ हप्तासम्म देखिन्छन् । दाग देखिनुका साथै ज्वरो आउने, टाउको दुख्‍ने, मांसपेशी र ढाड दुख्‍ने, शिथिल महसूस हुने र लिम्फ नोडहरू सुनिने पनि हुन्छ । यस्तो दाग फोका वा घाउ जस्तो देखिन्छ । साथै त्यसले अनुहार, हत्केला, पैताला, कम्मर, मलद्वार वरिपरिका क्षेत्र वा यौनाङ्गहरूमा असर पुर्‍याउँछ । यस्ता घाउहरू मुख, आँखा, घाँटी, मलद्वार, त्यसभित्र ठूलो आन्द्राको तल्लो भाग वा योनीसहित शरीरका भित्री भागहरूमा समेत यस्ता घाउ आउन सक्छन् । यस्ता घाउहरूको सङ्ख्या एकदेखि केही हजारसम्म हुनसक्छ । केही मानिसहरूमा मलद्वारबाट भित्रपट्टि ठूलो आन्द्राको तल्लो भाग सुन्निएर जलन र असाध्यै पीडा हुनसक्छ । यौनाङ्गहरू पोल्ने र पिसाब फेर्दा अप्ठ्यारो महसूस हुनसक्छ ।

एमपक्स सङ्‍क्रमणका धेरै जसो बिरामीहरूमा देखिने लक्षणहरू दुखाई वा ज्वरो घटाउने औषधिहरू जस्ता सहायक हेरचाहका उपायबाट केही साताभित्र आफैँ ठीक भएर हराउँछन् । यद्यपि, केही मानिसहरूमा समस्या बढ्ने, जटिल स्वास्थ्य अवस्थामा पुग्‍ने र मृत्यु समेत हुन सक्दछ । नवजात शिशुहरू, बालबालिका, गर्भवती महिला र एचआइभी जस्ता रोग लागेर शरीरको प्रतिरोधी क्षमता कम भएका मानिसहरूमा एमपक्स रोग गम्भीर हुने र मृत्यु हुन सक्‍ने जोखिम बढी हुनसक्छ ।

एमपक्सका कारण घातक हुन सक्‍ने समस्याहरूमा ठूला र धेरै फैलिएका घाउहरू (खासगरी मुख, आँखा र यौनाङ्गमा फैलिएका) अनि छाला र रगतमा हुन सक्‍ने ब्याक्टेरियल सङ्‍क्रमण र फोक्सोको सङ्‍क्रमण पर्दछन् । एमपक्सले ल्याउने अन्य जटिलतामा छालामा भएका घाउहरूमा ब्याक्टेरियाको सङ्‍क्रमण हुने, एमपक्सका कारण मस्तिष्क (इन्सेफ्लाइटिस), मुटु (मायोकार्डिटिस), वा फोक्सो (निमोनिया) र आँखामा समस्या आउने जस्ता असरहरू आदि पर्दछन् । एमपक्सबाट अति प्रभावित भएका मानिसहरूलाई घाउहरूको जटिलता कम गर्न र ठीक हुने समय घटाउन अस्पतालमा भर्ना गर्नुपर्ने, थप स्वास्थ्य सहायता दिनुपर्ने साथै एन्टीभाइरल औषधिहरू लगाउनुपर्ने हुन सक्छ।

उपलब्ध तथ्याङ्कहरू अनुसार एमपक्स भएपछि मर्ने मानिसहरूको सङ्ख्या ०.१ प्रतिशतदेखि १० प्रतिशतसम्म छ । स्वास्थ्य सेवामा पहुँच, पत्ता नलागेको वा थाहा भइसकेका एचआइभी सहित रोग प्रतिरोधी क्षमता कमजोर भएका अवस्था जस्ता धेरै कारण र अवस्थाहरूले मृत्यु दरमा फरक पारिरहेको हुन्छ भन्ने बुझ्‍नु जरुरी हुन्छ ।


एमपक्स कसरी फैलिन्छ ?

व्यक्तिबाट व्यक्तिमा –

खासगरी एमपक्स भएको व्यक्तिसँगको निकट सम्पर्कबाट एमपक्स एक व्यक्तिबाट अर्कोमा सर्दछ । निकट सम्पर्क भन्नाले छालाबाट छालामा सर्ने (जस्तो छुँदा वा यौन सम्पर्क गर्दा) साथै मुखबाट मुखमा सर्ने वा मुखबाट छालामा सर्ने (जस्तो कि चुम्बन) हुन सक्छ । त्यसैगरी, एमपक्स भएको व्यक्तिको सम्मुख पर्दा पनि सर्न सक्दछ (जस्तो कि एकआपसमा एकदमै नजिक बसेर कुराकानी गर्दा वा सङ्‍क्रमित कणहरू श्वासबाट उत्पन्न भएको अवस्थामा श्वासप्रश्वासबाट समेत सर्न सक्छ) । सन् २०२२ मा शुरू भएको विश्वव्यापी प्रकोपमा चाहिँ यो भाइरस मुख्य रूपमा यौन सम्पर्कमार्फत् फैलिएको थियो । फरक परिस्थिति र फरक परिवेशहरूमा प्रकोपको रूप लिँदा एमपक्स कसरी फैलन्छ भन्ने बारे थप अध्ययनहरू गर्न आवश्यक छ ।

एमपक्स भएका मानिसहरूलाई तबसम्म सङ्‍क्रमित मानिन्छ, जबसम्म उनीहरूका सबै घाउमा खाटा बसी त्यसभित्र छालाको नयाँ तह बनेर खाटा झर्दैनन् । आँखा र शरीरका अन्य अङ्गमा (मुख, घाँटी, योनी र मलद्वारभित्र) भएका घाउहरू पूर्ण रूपमा ठीक हुँदैनन् । यसरी सबै ठीक हुन सामान्यतया २ देखि ४ हप्ताको समय लाग्छ ।

कपडा, ओछ्यान, तौलिया, विद्युतीय उपकरणहरू, अन्य वस्तु र एमपक्स भएको व्यक्तिले छोएका वा बसेका ठाउँहरूमा पनि भाइरस केही समय रहिरहन सक्दछ । यस्ता वस्तु वा ठाउँमा छुने अर्को व्यक्ति सङ्‍क्रमित हुन सक्दछ । खासगरी, यदि त्यस व्यक्तिको शरीरमा कुनै घाउचोट छ वा त्यस्ता वस्तु छोएपछि हात नधोई आँखा, नाक, मुख वा शरीरका अन्य म्युकुसयुक्त भाग छोएको छ भने भाइरस सर्न सक्दछ । भाइरसको यस प्रकारको फैलावट रोक्‍नका लागि बिरामीले छोएका वस्तु वा स्थानलाई किटाणुरहित हुने गरी सफा गर्ने काम र त्यस्ता सङ्‍क्रमित स्थान वा वस्तु छोएपछि हात धुने काम सहयोगी हुन सक्छन् ।

यो भाइरस गर्भावस्थामा भ्रुणमा सर्न सक्छ । बच्चा जन्मिएपछि वा जन्मने क्रममा छालाबाट छालामा हुने संसर्गबाट वा एमपक्स भएका बाआमासँगको निकट सम्पर्कका क्रममा उनीहरूबाट नवजात शिशु वा बालबालिकामा सर्न पनि सक्दछ ।

एमपक्स भएर पनि लक्षण नदेखिएको व्यक्तिबाट पनि एमपक्स सरेका केही जानकारीहरू बाहिर आएका छन् । तर लक्षण देखिनु अगाडि भाइरस शरीरमा भएका व्यक्ति वा घाउहरू ठीक भइसकेको व्यक्तिबाट यो भाइरस सर्छ कि सर्दैन भन्ने निर्क्योल गर्न अहिलेसम्म सीमित सूचनाहरू मात्र उपलब्ध छन् । यस्ता बिरामीहरूको वीर्यमा जिउँदो भाइरस भेटिएको भए पनि वीर्य, योनीमा उत्पन्न हुने तरल पदार्थ, एम्‍निओटिक पदार्थ, आमाको दूध वा रगतमा कुन हदसम्म भाइरस हुँदा सङ्‍क्रमण सर्न वा फैलन सक्छ भन्ने कुरा हामीले अहिलेसम्म थाहा पाइसकेका छैनौँ ।

जनावरबाट मानिसमा –

बाँदरका केही प्रजाति वा जमीनमा हिँड्ने मुसा प्रजातिका केही जीव (जस्तो कि लोखर्के) जस्ता भाइरस धारण गर्न सक्‍ने जनावरसँग शारीरिक सम्पर्कमा आउने व्यक्तिलाई ती जनावरबाट एमपक्स सर्न सक्दछ । यस्ता जनावर वा तिनको मासुलाई मानिसले छुँदा वा चलाउँदा, टोक्दा वा घाउ लाग्दा वा शिकार गर्ने, छाला काढ्ने, थुन्ने वा जालमा पार्ने वा खाना दिने जस्ता क्रियाकलापका क्रममा सङ्‍क्रमण हुन सक्छ । यो भाइरस राम्ररी नपकाएको सङ्‍क्रमित मासु खाँदा पनि मानिसमा सर्न सक्दछ ।

जनावरबाट एमपक्स सर्ने जोखिमलाई जङ्गली जनावरहरूसँगको असुरक्षित सम्पर्क वा छुवाइलाई निषेध गरेर कम गर्न सकिन्छ । खासगरी बिरामी वा मृत (तिनको मासु वा रगत समेत) जनावरहरूलाई नछोएर यस्तो सावधानी अपनाउनुपर्छ । जनावरहरूले भाइरस धारण गर्न सक्‍ने देशहरूमा जनावरको मासु वा अङ्ग भएका खानेकुरा खानुअघि राम्ररी पकाउनुपर्दछ ।

मानिसबाट जनावरहरूमा –

घरमा पालिएका कुकुरहरूमा यो भाइरस भेटिएका केही घटनाहरू जानकारीमा ल्याइएका छन् । यद्यपि, ती वास्तविक सङ्‍क्रमण नै थिए वा भेटिएका भाइरसहरू सङ्‍क्रमित स्थानसँग सम्बन्धित थिए भन्ने अझैसम्म निश्चित भइसकेको छैन ।

जनावरहरूका धेरै प्रजातिहरू यो भाइरसका लागि संवेदनशील रहेको थाहा भइसकेकाले विभिन्न परिस्थितिमा मानिसबाट जनावरहरूमा भाइरस सर्न सक्‍ने सम्भावना छ । एमपक्स भएको निश्चित भएका वा आशङ्का गरिएका मानिसहरूले घरपालुवा वा जङ्गली जनावरका साथै पाल्तु जनावरहरूको (कुकुर, बिरालो वा अन्य पाल्तुको) नजिक जाने, छुने वा निकट सम्पर्कमा बस्‍ने कुरालाई रोक्‍नु पर्दछ ।

डब्ल्यूएचओले यस भाइरसको प्राकृतिक भण्डारबारे थप थाहा पाउने र जनावरबाट मानिसमा र मानिसबाट जनावरमा हुने एमपक्सको सङ्‍क्रमण जोखिमलाई कम गर्न राष्ट्रहरूलाई सहयोग पुर्‍याउने हेतुले खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व पशु स्वास्थ्य संगठन (डब्ल्यूओएएच्) जस्ता आफ्नो वन हेल्थ कार्यक्रमका साझेदारहरूसँग निरन्तर सहकार्य गरिरहेको छ ।


को एमपक्सको जोखिममा छ ?

एमपक्स भएको व्यक्तिको निकट सम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्‍क्रमणको जोखिम हुन्छ । निकट सम्पर्क भन्नाले छालाबाट छालामा सर्ने (जस्तो छुँदा वा यौन सम्पर्क गर्दा) साथै मुखबाट मुखमा सर्ने वा मुखबाट छालामा सर्ने (जस्तो कि चुम्बन) हुनसक्छ । त्यसैगरी, एमपक्स भएको व्यक्तिको सम्मुख पर्दा पनि सर्न सक्दछ (जस्तो कि एक आपसमा एकदमै नजिक बसेर कुराकानी गर्दा वा सङ्‍क्रमित कणहरू श्वासबाट उत्पन्न भएको अवस्थामा श्वासप्रश्वासबाट समेत सर्न सक्छ) । एमपक्स भएका व्यक्तिले छोएका कपडा, ओछ्यान, तौलिया, विद्युतीय उपकरणहरू, अन्य वस्तु र एमपक्स भएको व्यक्तिले छोएका वा बसेका ठाउँहरूमा छोएको वा सम्पर्कमा पुगेको मानिसहरू पनि जोखिममा रहन्छन् ।

एमपक्स भएको व्यक्तिसँग बसिरहेको व्यक्तिले सङ्‍क्रमित हुन सक्‍ने जोखिम न्यूनीकरण गर्न केही कदमहरू उठाउनुपर्छ । एमपक्स देखिएको निश्चित भएको मानिसलाई स्वास्थ्य सेवा प्रदायकहरूले मूल्याङ्कन गर्नुपर्छ र उसलाई घरमा हेरचाह गर्न सकिन्छ कि सकिँदैन साथै घरमा सुरक्षित हिसाबले उसलाई अलग गरेर राख्ने व्यवस्था मिलाउन सकिन्छ कि सकिँदैन भन्ने यकीन गर्नुपर्छ ।

स्वास्थ्यकर्मीले एमपक्स भएका बिरामीको हेरचाह गरिरहँदा आफूलाई सुरक्षित राख्नका लागि सङ्‍क्रमण रोकथाम तथा नियन्त्रणका उपायहरूको पालना गर्नुपर्छ (उचित व्यक्तिगत सुरक्षा उपकरणहरू लगाएर साथै परीक्षणका लागि घाउहरू कसरी सुरक्षित रूपमा सफा गर्ने र सुई जस्ता तीखा वस्तुहरू कसरी प्रयोग गर्ने भनी निश्चित गरिएका कार्यविधिहरूको पालना गरेर) ।


के समलिङ्गी पुरुष (गे), उभयलिङ्गी (बाइसेक्सुअल) वा पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुषहरूलाई एमपक्स सर्ने बढी जोखिम हुन्छ ?

एमपक्सको जोखिम यौनक्रियामा सक्रिय वा गे, बाइसेक्सुअल र पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुषहरूमा मात्र सीमित छैन । एमपक्सको लक्षण भएको व्यक्तिसँग निकट सम्पर्क रहेको जोसुकै पनि जोखिममा रहन्छ । धेरै जनासँग यौन सम्पर्कमा रहने व्यक्ति पनि जोखिममा रहन्छ ।

सन् २०२२/२०२३ मा धेरै वटा देशहरूमा प्रकोपका रूपमा जानकारीमा आएका अधिकांश सङ्‍क्रमणका घटनाहरू चाहिँ गे, बाइसेक्सुअल र अन्य पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुषहरूबीच पहिचान गरिएको थियो । धेरै देशहरूमा यी यौनिक सञ्जालहरूमा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने कुरालाई ध्यानमा राख्दा यदि सङ्‍क्रमित व्यक्तिसँग यौन सम्पर्क वा अन्य प्रकारका निकट सम्पर्क राखेको छ भने गे, बाइसेक्सुअल र अन्य पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुष एमपक्सको बढी जोखिममा पर्न सक्दछन् । धेरै जनासँग र नयाँ नयाँ पार्टनरसँग यौन सम्बन्ध भएकाहरू सबैभन्दा बढी जोखिममा हुन्छन् । सबैभन्दा बढी जोखिममा रहेकाहरूको सुरक्षाका लागि सचेतना फैलाउन गे, बाइसेक्सुअल र अन्य पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूका समुदायहरूलाई परिचालित गर्न अत्यावश्यक छ । यदि तपाईं अर्को पुरुषसँग यौन सम्पर्क राख्‍ने पुरुष हो भने आफूमाथिको जोखिम थाहा पाउनुहोस् र आफू तथा अरूको सुरक्षाका लागि कदमहरू चाल्नुहोस् । एमपक्स हुन सक्‍ने लक्षणहरू भएको जो सुकैले पनि परीक्षण र हेरचाह प्राप्त गर्न तुरुन्तै स्वास्थ्य सेवा प्रदायकको सल्लाह लिनुपर्छ ।

यौनकर्मी र तिनका ग्राहकहरू पनि जोखिममा हुन्छन् । एमपक्स फैलनबाट रोक्‍नका लागि जनचेतना बढाउन र सबैभन्दा बढी जोखिममा रहेकाहरूलाई सुरक्षित बनाउन यौनकर्मीहरूका संगठन र सञ्जालहरूलाई परिचालन गर्नु अत्यावश्यक छ । यौनकर्मीहरूका लागि ।


मैले कसरी आफू र अरूलाई एमपक्सबाट जोगाउन सक्छु ?

तपाईं स्वयम्‌ र अरूलाई एमपक्सबाट जोगाउनका लागि रोगका सङ्केत र लक्षणहरू, यो भाइरस कसरी सर्छ वा फैलन्छ, तपाईं बिरामी भइहाल्नुभयो भने के गर्ने साथै तपाईंको क्षेत्र वा समुदायभित्रका जोखिमहरूबारे थाहा पाउनुहोस् ।

यदि यो भाइरस तपाईंको क्षेत्र वा समुदायभित्र फैलिरहेको छ भने तपाईं निकट सम्पर्कमा आउने व्यक्तिहरूसँग तपाईंमा वा उनीहरूमा देखिएको लक्षणबारे खुलेर छलफल गर्नुहोस् । एमपक्स भएको व्यक्तिसँग यौन सम्पर्क सहितका कुनै पनि प्रकारको निकट सम्पर्क नराख्‍नुहोस् । साबुन पानीले पटक पटक आफ्ना हात धुनुहोस् वा अल्कोहल भएको हात सफा गर्ने सामग्री पटक पटक प्रयोग गर्नुहोस् ।

यदि तपाईंलाई एमपक्स भएको जस्तो लाग्छ भने तपाईंले उपचारात्मक सल्लाहको खोजी गर्दै आफ्नो परीक्षण पूरा नहुँदासम्म आफूलाई अरूबाट अलग राखी (आइसोलेट गरी) अरूको सुरक्षा गर्न सक्‍नुहुन्छ । यदि तपाईंलाई एमपक्स भयो भने तपाईंले सबै घाउमा खाटा बसी त्यसभित्र छालाको नयाँ तह बनेर खाटा नझर्दासम्म आफूलाई अरूबाट अलग गरेर राख्‍नै पर्दछ । यसले भाइरसलाई अर्को व्यक्तिमा सर्न रोक्‍नेछ । घरमा नै आइसोलेशनमा बस्‍ने कि स्वास्थ्य केन्द्रमा बस्‍ने भन्नका लागि आफ्नो स्थानीय तहका स्वास्थ्यसम्बन्धी निकायका निर्देशनहरूको पालना गर्नुहोस् । यदि यौन सम्पर्क गर्दै हुनुहुन्छ भने आफू ठीक भइसकेको १२ हप्तासम्म (करिब ३ महिनासम्म) सावधानीका रूपमा कण्डमको प्रयोग गर्नुहोस् ।

केही जनावरहरूले एमपक्स भाइरस धारण गरेको पाइएका देशहरूमा (अर्थात् पूर्वी, मध्य र पश्चिमी अफ्रिकाका केही देशहरूमा) जङ्गली जनावरहरू र त्यसमा पनि खास गरेर बिरामी वा मरेका (तिनको मासु र रगत समेत)को असुरक्षित सम्पर्कमा नगएर तपाईंले आफूलाई सुरक्षित राख्नुहोस् । जनावरको मासु वा अङ्ग भएका खानेकुरा खानुअघि राम्ररी पकाउनुपर्दछ ।


एमपक्स र यौन क्रियाकलापबारे हामीलाई के थाहा छ ?

एमपक्स कुनै पनि प्रकारको निकट सम्पर्क मार्फत सर्दछ र फैलन्छ । यसमा सङ्‍क्रमित व्यक्तिसँग हुने चुम्बन, छुवाइ, मुखमैथुन तथा योनी वा मलद्वारमार्फत हुने यौन सम्पर्क पर्दछन् । धेरै जनासँग वा नयाँ नयाँ पार्टनरहरूसँग यौन सम्पर्क राख्‍ने व्यक्तिहरू सबैभन्दा जोखिममा छन् ।

नयाँ र अनौठा दाग वा घाउहरू देखिएको कोही पनि व्यक्तिले यौन रोगको सङ्‍क्रमण र एमपक्सको परीक्षण नहुँदासम्म अरूसँग यौन सम्पर्क वा अन्य कुनै पनि प्रकारका निकट सम्पर्कहरू राख्‍नुहुँदैन । याद गर्नुहोस् कि यस्ता दाग वा घाउहरू देख्‍न असहज हुने शरीरका भागहरूमा पनि भेटिन सक्छन्, जसमा मुख, घाँटी, यौनाङ्गहरू, योनी र मलद्वार र त्यस वरिपरिका क्षेत्रहरू पर्दछन् ।

यदि तपाईंको समुदाय वा क्षेत्रमा यौन क्रियाकलाप मार्फत एमपक्स फैलिरहेको छ भने निम्‍नानुसारका कार्यमार्फत प्रकोप नियन्त्रणमा नल्याइँदासम्म आफ्नो जोखिम घटाउनेबारे सोच्‍नुहोस् -

  • एमपक्स, यसका लक्षण र जोखिमहरूबारे आफ्ना पार्टनरहरूसँग खुलेर कुराकानी गर्ने
  • लक्षणहरू देखा परेमा एक अर्कालाई जानकारी दिन सकियोस् भनी यौन पार्टनरहरूसँग नियमित कुराकानीका लागि सम्पर्क माध्यम कायम गर्ने
  • यौन सम्पर्कबाट केही समय विश्राम लिने
  • नयाँ नयाँ यौन पार्टनरहरूको सङ्ख्या कम गर्ने, अनायास हुने र अपरिचितसँग हुने यौन सम्पर्कहरूलाई नियन्त्रण गर्ने
  • नियमित रूपमा कण्डम प्रयोग गर्ने
  • सामूहिक यौन क्रियाकलापबाट पर रहने
  • यौन सम्पर्क सुविधा उपलब्ध हुने स्थानहरूमा नजाने (पैसासँग यौन किनबेच हुने कुनै पनि स्थान)
  • यौनिक सन्दर्भहरूमा मादक पदार्थ वा लागूपदार्थ सेवन नगर्ने (यौन क्रियाका लागि कुनै पनि प्रकारका रासायनिक वस्तु प्रयोग नगर्ने कुरा सहित), र
  • जहाँ र जहिले उपलब्ध हुन्छ खोप लगाउने ।

एमपक्स भाइरस वीर्यमा पाइएको भए पनि एमपक्स वीर्य वा योनीबाट निस्कने तरल पदार्थबाट सर्छ कि सर्दैन भन्ने कुरा अहिलेसम्म थाहा भइसकेको छैन । कण्डम लगाउनुले तपाईंलाई एमपक्सबाट पूर्ण रूपमा सुरक्षित राख्छ भन्ने छैन तर यसले जोखिमको सम्भावनालाई केही हदसम्म कम गर्छ साथै यसले तपाईं र अरूलाई एचआइभी र धेरैथरी यौन रोगहरूबाट सुरक्षित रहन मदत गर्छ । एमपक्स भएका मानिसहरूलाई उनीहरू ठीक भएको १२ हप्तासम्म कण्डमको प्रयोग गर्न सुझाव दिइएको छ ।


मलाई एमपक्स भएको छ । अरू मानिसलाई सङ्‍क्रमण हुनबाट जोगाउन मैले के गर्न सक्छु ?

यदि तपाईंलाई एमपक्स भएको छ भने तपाईंको स्वास्थ्य सेवा प्रदायकले तपाईंलाई ठीक बनाउनका लागि के के गर्नुपर्छ भनेर सुझाव दिनेछन् । तपाईंले घरमा बसेर नै स्वास्थ्य लाभ गर्ने वा तपाईंलाई स्वास्थ्य केन्द्रमा हेरचाह आवश्यक पर्छ भन्नेबारे राष्ट्रिय स्तरमा जारी गरिएका सुझावहरूको पालना गर्नुहोस् ।

यसका साथै, तपाईंका घाउहरू पूर्ण रूपमा ठीक नहुँदासम्म अन्य व्यक्तिहरूसँग निकट सम्पर्कमा नरहनु निकै महत्त्वपूर्ण हुन्छ ।

यदि तपाईंलाई घरमा नै अलग बस्‍न (आइसोलेट गर्न) सुझाव दिइएको छ भने निम्‍नानुसारका कार्य गरेर आफूसँगै बस्‍नेहरूलाई जतिसक्दो जोगाउनुहोस् –

  • तपाईंलाई आवश्यक पर्ने कुराहरू ल्याउन साथीहरू र परिवारसँग मदत माग्‍ने
  • छुट्टै कोठामा आफूलाई अलग गरेर राख्‍ने (आइसोलेट गर्ने)
  • छुट्टै शौचालय र स्‍नानकक्ष प्रयोग गर्ने वा प्रत्येक पटकको प्रयोगपछि आफूले छोएको ठाउँ सफा गर्ने
  • पटक पटक छोइने ठाउँहरू साबुन पानी र किटाणु हटाउने घरेलु सामग्रीहरूले पटक पटक सफा गर्ने
  • बढार्ने वा भ्याकुम लाउने काम नगर्ने (यसले भाइरस रहेको सतहमा खलबल ल्याई अरूलाई सङ्‍क्रमित बनाउन सक्छ ।)
  • छुट्टै भाँडाकुँडा, वस्तुहरू वा विद्युतीय उपकरणहरू प्रयोग गर्दा वा अरूलाई चलाउन दिनुपूर्व साबुन पानी वा किटाणु हटाउने सामग्रीले सफा गर्ने
  • तौलिया, ओछ्यान वा लुगाहरू साटफेर गरेर नलगाउने वा प्रयोग नगर्ने
  • आफ्ना कपडा आफैँ धुने वा सफा गर्ने (ओछ्यान, कपडा र तौलियाहरू नझट्कारी विस्तारै ध्यानपूर्वक उठाउने, धुने ठाउँमा लैजानुअघि धुने सामग्रीहरूलाई प्लाष्टिकको थैलीमा राख्‍ने र ६० डिग्री सेल्सियस भन्दा तातो पानीमा ती कपडाहरू धुने)
  • राम्रोसँग हावा भित्र–बाहिर हुने गरी झ्यालहरू खोल्ने, र,
  • घरका सबै जनालाई नियमित रूपमा साबुन पानीले हात धुन वा अल्कोहल भएका स्यानीटाइजर प्रयोग गरी हात सफा राख्‍न प्रोत्साहित गर्ने ।

यदि तपाईंले आफूलाई अर्को व्यक्तिसँग एउटै कोठामा हुनबाट रोक्‍न सक्‍नुभएन वा अर्को व्यक्तिसँग निकट सम्पर्कमा रहनैपर्ने भयो भने निम्‍नानुसारका कार्य गरी सकेसम्म जोखिम कम गर्ने प्रयास गर्नुहोस् –

  • एकअर्कालाई नछुने,
  • साबुन पानीले वा अल्कोहल भएको स्यानीटाइजरले पटक पटक हात सफा गर्ने,
  • आफ्नो शरीरका दागहरू कपडा वा पट्टीले छोप्‍ने (तपाईंले फेरि आफूलाई अलग राख्‍ने अवस्था हुँदासम्म – तपाईंका घाउ नछोप्दा राम्रोसँग निको हुन्छन्)
  • घरका झ्यालहरू पूरा खुला राख्‍ने
  • तपाईं र तपाईंसँगै कोठामा रहने व्यक्तिले राम्रोसँग मुख र नाक छोप्‍ने मास्क लगाएको सुनिश्चित गर्ने, र,
  • एकअर्कासँग कम्तीमा १ मिटरको दूरी कायम राख्‍ने

यदि तपाईं आफैँले आफ्ना कपडाहरू सफा गर्न सक्‍नुहुन्न र तपाईंका लागि सफा गरिदिने कोही अर्को व्यक्ति आवश्यक पर्छ भने उसले राम्रोसँग नाक मुख छोप्‍ने मास्क, एक पटक प्रयोग गरेर फाल्न मिल्ने पञ्जा र माथि उल्लेख गरिएको कपडा धुँदा अपनाउनुपर्ने सावधानीहरू अपनाउनुपर्छ ।


एमपक्स भएको व्यक्ति पूर्ण रूपमा ठीक हुन के कस्तो हेरचाह आवश्यक हुन्छ ?

के कस्तो हेरचाह आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिमा कस्ता लक्षणहरू देखिएका छन् र अझ जटिल समस्याहरू देखापर्ने जोखिम कति छ भन्ने कुरामा भर पर्दछ । एमपक्स भएका मानिसले स्वास्थ्य सेवा प्रदायकका सल्लाहहरूको पालना गर्नुपर्दछ । आम रूपमा लक्षणहरू २ देखि ४ हप्तासम्म रहन्छन् र सामान्यतया आफैँ वा दुखाइ र ज्वरो हटाउने औषधि (एनाल्जेसिक्स र एन्टीपाइरेटिक्स आदि) जस्ता सहयोगी उपक्रमको प्रयोगबाट हराएर जान्छन् ।

एमपक्स भएर घरमा नै स्वास्थ्य लाभ गरिरहेको व्यक्तिलाई प्रशस्त पानी पिउनु, राम्रोसँग खानु र पर्याप्त निद्रा पुर्‍याउनु महत्त्वपूर्ण हुन्छ । आफैँलाई अरूबाट अलग गरी आइसोलेसनमा बसेका व्यक्तिहरूले आफूलाई आनन्द लाग्‍ने र मजा आउने कामहरू गरेर, प्रविधिको प्रयोग गरी प्रियजनहरूसँग सम्पर्कमा रहेर, शरीरमा ठीकै महसूस भइरहेको छ र आइसोलेशनमा गर्न सम्भव छ भने कसरतहरू गरेर साथै आवश्यक पर्दा आफ्ना परामर्शदातासँग मानसिक स्वास्थ्यबारे सहयोग मागेर आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्‍नुपर्दछ ।

एमपक्स भएका व्यक्तिले आफ्नो छाला कन्याउनु हुँदैन र शरीरमा आएका घाउहरू छुनुअघि र छोइसकेपछि हात सफा गरेर साथै छालालाई नछोपी सुक्खा राखेर हेरविचार गर्नुपर्दछ (कोठामा अरू कोही रहनैपर्ने अवस्था नहुँदासम्म नछोप्‍ने हो तर त्यो अवस्था रहेन भने फेरि एक्लै नहुँदासम्म कपडा वा पट्टीले छोप्‍ने हो) । दाग र घाउहरूलाई निर्मलीकरण गरिएको पानी वा एन्टीसेप्टीक प्रयोग सफा गर्न सकिन्छ । मुखका घाउहरूका लागि नूनपानी प्रयोग गरी कुल्ला गर्न सकिन्छ साथै खाने सोडा मिसाएर मनतातो पानीले नुहाउन सकिन्छ । इप्सम सल्टले शरीरमा भएका घाउहरूलाई केही सहज बनाउँछ । घाउका कारण भएको दुखाइ व्यवस्थापन गर्न सहयोग होस् भनी आवश्यक पर्दा पारासिटामोल प्रयोग गर्न सकिन्छ । यदि दुखाइ कम गर्ने अझ कडा औषधि आवश्यक पर्ने भएमा स्वास्थ्य सेवा प्रदायकको सल्लाह लिनुपर्दछ ।


एमपक्ससँग सम्बन्धित भएर व्यक्त गरिने हेय दृष्टिकोणहरूले किन अर्थ राख्छन् ?

कुनै स्वास्थ्य अवस्थासँग सम्बन्धित भएर व्यक्त गरिने हेय दृष्टिकोण वा भेदभावहरू विद्यमान हुँदा मानिसहरूले तुरुन्तै हेरचाहमा जान सक्दैनन् । स्वास्थ्य सेवाको गुणस्तर प्रभावित बन्छ र सबैभन्दा संवेदनशील अवस्थामा रहेकाहरूको स्वास्थ्य सेवासम्मको पहुँच घट्न पुग्छ ।

हेय दृष्टिकोणरहित सेवा प्रदान गर्ने रणनीतिहरूमार्फत एमपक्ससँग सम्बन्धित हेय दृष्टिकोण र भेदभावहरूलाई रोक्‍न वा कम गर्न सम्भव छ । साथै, यसका लागि हेय भाव प्रकट नगर्ने भाषाको प्रयोग गर्ने, स्वास्थ्य सेवाको खोजीमा रहेकाहरूलाई सहयोग गर्ने र उत्कृष्ट गुणस्तरको सेवा उपलब्ध हुनसक्‍ने सबल वातावरण सृजना गर्ने रणनीतिहरू तय गर्न सकिन्छ ।


मेरो हेरचाहमा रहेका बालबालिकामा एमपक्स देखियो भने मैले के गर्नुपर्छ ?

एमपक्सका लक्षणहरू देखिएको कोही कसैसँग बालबालिकाको निकट सम्पर्क भयो भने उनीहरूलाई एमपक्स सर्न सक्दछ । बालबालिकाले आफ्ना दाजुभाइ, दिदीबहिनी, आमाबा, हेरचाहकर्ता वा परिवारका अन्य सदस्यहरूसँगको निकट सम्पर्कबाट भाइरसको सामना गर्नुपरेको हुन सक्छ । एमपक्सको लक्षण भएका कोही कसैसँग यौन क्रियाकलापमा संलग्न भएका किशोरकिशोरीमा पनि भाइरस सर्ने जोखिम रहन्छ । एमपक्समा देखिने दाग र घाउहरू शुरूमा बालबालिकामा देखिने ठेउला र अन्य भाइरल सङ्‍क्रमण जस्ता आम बिमारीका लक्षणहरूसँग मिल्दाजुल्दा देखिन्छन् । यदि तपाईंले हेरचाह गरिरहेका बालबालिकामा एमपक्सका लक्षणहरू देखिएका छन् भने स्वास्थ्य सेवा प्रदायकसँग सल्लाह लिनुहोस् । उनीहरूले बालबालिकाको परीक्षण गर्न र तिनलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच दिलाउन मदत गर्नेछन् ।

वयस्क मानिसको तुलनामा बालबालिकालाई गम्भीर र जटिल एमपक्स हुने जोखिम बढी हुनसक्छ । बालबालिकालाई थप हेरचाह र स्वास्थ्य सेवा आवश्यक परेको अवस्थामा उनीहरू ठीक नहुँदासम्म उनीहरूलाई प्रत्यक्ष निगरानीमा राख्नुपर्दछ । बालबालिकासँग सम्बन्धित स्वास्थ्यकर्मीले उनीहरूलाई स्वास्थ्य केन्द्रमा राखेर हेरचाह गर्नुपर्ने सल्लाह पनि दिन सक्छन् । यस्तो अवस्थामा, स्वास्थ र एमपक्सको जोखिम कम भएका बाआमा वा हेरचाहकर्तालाई बालबालिकासँगै रहन छुट दिइनेछ ।

यदि तपाईंलाई एमपक्स भइसकेको वा भएको आशङ्का छ र स्तनपान गराइरहनुभएको छ भने सल्लाह र सुझावका लागि आफ्ना स्वास्थ्य सेवा प्रदायकसँग कुराकानी गर्नुहोस् । उनीहरूले एमपक्स सर्न सक्ने जोखिम र नवजात शिशुलाई स्तनपान गराउन रोक्नुका जोखिमहरूको मूल्याङ्कन गर्नेछन् । यदि तपाईंलाई स्तनपान गराउन र निकट सम्पर्कमा रहन सम्भव छ भने उनीहरूले घाउहरूलाई छोप्ने सहितका जोखिम कसरी कम गर्न सकिन्छ भन्ने अन्य उपायहरू सुझाउनेछन् । सङ्‍क्रमणको जोखिमलाई स्तनपान गराउन रोक्दाको सम्भावित हानी र तनावका साथै आमाबा र बालबालिकाबीचको निकट सम्पर्कलाई सचेत रूपमा सन्तुलनमा राख्न आवश्यक हुन्छ । आमाको दूधबाट बालबालिकामा एमपक्स भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । त्यसैले यो आगामी दिनमा थप अध्ययन गर्न आवश्यक क्षेत्र हो ।


के एमपक्सको उपचार छ ?

बिफरको उपचारसम्बन्धी धेरै वर्षको अनुसन्धानले एमपक्सको उपचारमा उपयोगी हुनसक्ने उत्पादनहरूको विकाससम्म पुर्‍याएको छ । उदाहरणका लागि बिफरको उपचारका लागि विकास गरिएको एक एन्टीभाइरल (टेकोभिरीम्याट)लाई औषधिसम्बन्धी युरोपेली निकाय यूरोपियन मेडिसिन्स एजेन्सीले सन् २०२२ को जनवरीमा असाधारण परिस्थितिको एमपक्सको उपचारका लागि प्रयोग गर्न स्वीकृति दिएको छ । एमपक्स फैलिएको अवस्थामा यस्ता औषधिहरूको प्रयोगसम्बन्धी अनुभवहरू बढिरहेका भए पनि यी सीमित छन् । यसै कारण, तिनको प्रयोगसँगै उपचारात्मक परीक्षण (क्लिनिकल ट्रायल) सञ्चालन गरिन्छ वा विस्तारित पहुँचमा पुर्‍याउने कार्यविधि (एक्सपान्डेड एक्सेस प्रोटोकल)सँगै सूचना सङ्कलनको काम गरिन्छ । ताकि भविष्यमा तिनलाई कसरी सबैभन्दा राम्रोसँग प्रयोग गर्न सकिन्छ भने ज्ञानमा वृद्धि होस् ।


के एमपक्सका लागि खोप छ ?

छ । एमपक्सविरुद्ध प्रयोग गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सिफारिश गरेका खोपहरू छन् । धेरै वर्षको अध्ययनबाट उन्मुलन भइसकेको बिफर रोगका लागि नयाँ र सुरक्षित खोपहरू विकास भएका छन् । तिमध्ये केही खोपहरूलाई एमपक्सविरुद्ध प्रयोग गर्न केही देशहरूमा स्वीकृति दिइएको छ ।

हाल, डब्ल्यूएचओले MVA-BN वा LC16 नामका खोपहरू प्रयोग गर्न सिफारिश गरेको छ भने अन्य खोप उपलब्ध नभएको अवस्थामा ACAM2000 नामको खोप प्रयोग गर्न सिफारिश गरेको छ ।

जोखिममा रहेका मानिसहरूलाई मात्र (उदाहरणका लागि एमपक्स भएको व्यक्तिको निकट सम्पर्कमा रहेको व्यक्ति वा एमपक्स सर्ने उच्च जोखिम रहेको समूहका व्यक्तिलाई मात्र) खोप दिन आवश्यक ठानिएको छ । अहिले आम रूपमा खोप कार्यक्रम चलाउन सिफारिश गरिएको छैन । स्वास्थ्य सेवा प्रदायकसँग व्यक्तिगत जोखिमको मूल्याङ्कन गर्दा जोखिममा रहन सक्ने देखिए यात्रामा रहने मानिसहरूले खोप लगाउने निर्णय गर्न सक्नेछन् ।

आफ्नो समुदायमा एमपक्स फैलिएका कारणले तपाईं एमपक्स हुनसक्ने उच्च जोखिममा हुनुहुन्छ भने आफ्ना स्वास्थ्य सेवा प्रदायकसँग उपलब्ध खोपका विकल्पहरूबारे छलफल गर्नुहोस् । डब्ल्यूएचओले अहिले एमपक्स भएका व्यक्तिको निकट सम्पर्कमा रहेका वा एमपक्स सर्ने उच्च जोखिम रहेको समूहका व्यक्तिलाई मात्र खोपहरूको सिफारिश गरेको छ । समुदायहरूलाई एमपक्सबाट बचाउने उपायहरूमध्ये खोप एक उपाय हो र यसको प्रयोग अन्य जनस्वास्थ्य एवम् सामाजिक उपायहरूसँग जोडेर गरिनुपर्छ ।

एमपक्सका खोपहरूले सङ्‍क्रमण र रोगसँग आउने जटिलताबाट एक तहसम्म सुरक्षा उपलब्ध गराउँछन् । खोप लगाइसकेपछि तपाईंले एमपक्स नसरोस् र नफैलियोस् भनेर निरन्तर ध्यान दिनुपर्छ । किनकि खोप लगाइसकेपछि शरीरमा प्रतिरोधि क्षमता विकास हुन केही हप्ता लाग्दछ । केही मानिसमा खोपले असर नदेखाउन पनि सक्छ । खोपपछि पनि एमपक्स भएकाहरूमा खोपले रोगलाई जटिल हुन र अस्पताल भर्ना हुनबाट चाहिँ जोगाउँछ ।

खोपको प्रभावकारितासम्बन्धी अध्ययनका निष्कर्ष र परिणामहरूले के देखाएका छन् भने खोपपछि तिनले एमपक्सविरुद्ध राम्रो स्तरको सुरक्षा उपलब्ध गराएका छन् । एमपक्सविरुद्धका खोपहरूको प्रयोगमाथि हुने आगामी अध्ययनहरूले फरक फरक परिस्थितिमा यी खोपहरूको प्रभावकारितामाथि थप सूचना र जानकारीहरू दिनेछन् ।


रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरू (एचआइभी भएका मानिसहरू सहित) एमपक्सका जटिलताहरू सामना गर्नुपर्ने उच्च जोखिममा हुन्छन् ?

रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरू एमपक्सका जटिलताहरू सामना गर्नुपर्ने वा मृत्युको उच्चत्तर जोखिममा हुन्छन् । एमपक्सका जटिलताभित्र ठूला घाउहरू देखा पर्ने, घाउहरू शरीरका धेरै भागमा फैलने (खासगरी मुख, आँखा र यौनाङ्गहरूमा), मुटु, मस्तिष्क वा अन्य अङ्गहरूमा जलनको महसूस हुने अवस्था आउने वा छालामा थप ब्याक्टेरियाको सङ्‍क्रमण पनि बढ्ने वा रगत र फोक्सोमा सङ्‍क्रमण देखिने आदि कुराहरू पर्दछन् ।

एचआइभी रोगको जटिल अवस्थामा रहेका मानिसहरूमा (ढिलो रोग पत्ता लागेका, सिडी फो काउन्ट कम र एचआइभीको भाइरल लोड धेरै भएकाहरूमा) यदि एमपक्सका जटिलता आए भने मृत्युको जोखिम धेरै नै बढ्छ । एमपक्स भएको निदान हुनुअघि एचआइभीको अवस्था थाहा नपाएका मानिसहरूमा यो सम्भावना अधिक हुन्छ ।

एचआइभी भएका मानिसहरू जसले एन्टीरेट्रोभाइरल उपचारबाट भाइरल प्रभाव दबाउन सकेका छन्, उनीहरू आम जनमानसभन्दा बढी एमपक्सको जोखिममा नरहने देखिएको छ । दैनिक रूपमा प्रभावकारी एचआइभी उपचार (एन्टीरेट्रोभाइरल वा एआरभी) प्रयोग गर्नाले एमपक्स भइहालेको अवस्थामा एमपक्सका जटिल लक्षणहरू देखापर्ने जोखिम घटाउँदछ । उपचार नगरिएको एचआइभी र जटिल एचआइभी रोग भएका मानिसहरू रोग प्रतिरोधी क्षमतामा कमजोर हुन सक्छन्, जसका कारण एमपक्स जटिल हुने उच्च जोखिममा रहन्छन् । डब्ल्यूएचओले सबै राष्ट्रहरूलाई एचआइभी र एमपक्सको परीक्षण, रोकथाम र उपचारलाई एकीकृत रूपमा सञ्चालन गर्न सुझाएको छ ।

यौन व्रियाकलापमा सक्रिय र आफूमा एचआइभीको अवस्थाबारे थाहा नपाएका मानिसहरूलाई एचआइभी परीक्षणका लागि सुझाव दिइएको छ । एचआइभीको प्रभावकारी उपचार सहित बाँचिरहेका मानिसहरूको जीवनप्रतिको आशा एचआइभी नभएका उनीहरूका साथीहरूको जस्तै रहन्छ ।

केही देशहरूमा देखा परेका एमपक्सका जटिल घटनाहरूले एमपक्सको निदानका लागि गरिने परीक्षण, खोपहरू र उपचारका साथै एचआइभी रोकथाम, परीक्षण र उपचारमा न्यायसंगत पहुँच तत्काल वृद्धि गर्नुपर्ने आवश्यकता प्रष्ट्याएका छन् । यसो नगर्दा सबैभन्दा प्रभावित बनेका समूहहरू यौन स्वास्थ्य र तन्दुरुस्तीको सुरक्षाका लागि आवश्यक उपायहरूविहीन रहन्छन् ।

यदि तपाईं एचआइभी सहित बाँचिरहनुभएको छ भने निर्देशित गरिए अनुसार एचआइभीका औषधिहरू निरन्तर लिइरहनुहोस् । आफूलाई एमपक्स भएको हुनसक्छ भन्ने लागे थप उपचार र सल्लाहको खोजी गर्नुहोस् ।

यदि तपाईंलाई एमपक्स भएको छ वा भएको शङ्का लागेको छ भने तपाईंले यौन रोगहरूको सङ्‍क्रमण छ कि छैन भन्ने परीक्षणबाट पनि फाइदा लिन सक्नुहुन्छ । यदि तपाईंलाई एचआइभीको अवस्था के छ भन्ने थाहा छैन भने आफ्ना स्वास्थ्यकर्मीलाई एचआइभी परीक्षणका लागि आग्रह गर्नुहोस् । यसले तपाईंको स्वास्थ्य सेवा प्रदायकलाई सम्भव भएसम्मको उत्तम सेवा सुनिश्चित गर्न सघाउँदछ । सन् २०२३ मा एचआइभी भएका तर उपचार नगराएका मानिसहरूको सङ्ख्या विश्वभरमा ९० लाख थियो । ती एचआइभी रोगका जटिलताहरू बढ्ने जोखिममा थिए । जसमध्ये ५० लाख अफ्रिकामा बसोबास गरिरहेकाहरू थिए ।


गर्भवती अवस्थामा एमपक्सका जोखिमहरू के के छन् ?

गर्भवती अवस्थामा (जसलाई तुलनात्मक रूपमा प्रतिरोधी क्षमता दबिएको अवस्था मानिन्छ) एमपक्स सर्नु भ्रुण वा नवजात शिशुका लागि खतरा हुन सक्छ । यसले गर्भ तुहिने, मृत बच्चा जन्मने वा नवजातको मृत्यु हुने वा आमाको स्वास्थ्यमा जटिलताहरू थपिने जस्ता अवस्थामा पुर्‍याउन सक्छ । यदि तपाईं गर्भवती हुनुहुन्छ भने एमपक्स भएका कसैसँग पनि निकट सम्पर्कमा नजानुहोस् । एमपक्स सङ्व्रमितसँग निकट सम्पर्कमा बसेको जोसुकैमा पनि यो सर्न सक्दछ चाहे तिनीहरू जोसुकै वा परिवारभित्रैका किन नहुन् । यदि तपाईंलाई आफू एमपक्स भएकाहरूको वा लक्षण देखाइरहेकाहरूको सामना गर्नुपर्ने अवस्थामा पुगेको महसूस भएको छ भने आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस् । उनीहरूले तपाईंलाई परीक्षण गराउन र आवश्यक सेवाको पहुँच दिलाउन मदत गर्नेछन् ।


मलाई विगतमा एमपक्स भइसकेको थियो । के मलाई फेरि एमपक्सले भेट्न सक्छ ?

एमपक्स भएपछि विकास भएको प्रतिरोधी क्षमता कति समयसम्म रहन्छ भन्ने हाम्रो बुझाइ निरन्तर परिस्कृत भइरहेको छ । दोस्रो पटक सङ्क्रमण भएका केही घटनाहरू बाहिर आएका छन् । पहिले एमपक्स भइसकेको भए पनि सीमित मानिसहरूमा एमपक्स फेरि देखिन सक्छ । तपाईंलाई विगतमा एमपक्स भइसकेको भए तापनि तपाईंले फेरि सङ्व्रमित हुनबाट बच्न आवश्यक पर्ने सबै उपायहरू अपनाउनै पर्छ ।

यदि तपाईंलाई विगतमा एमपक्स भइसकेको छ र अहिले तपाईंको घर परिवारमा कसैलाई एमपक्स भएको छ भने तपाईंले आफूलाई हेरचाहकर्ताको रूपमा तोकी परिवारका अन्य सदस्यलाई सुरक्षित बनाउन सक्नुहुन्छ किनकि अरूसँग भन्दा तपाईंसँग केही प्रतिरोधी क्षमता हुने सम्भावना बढी हुन्छ । यद्यपि, तपाईंले फेरि पनि सम्भव भएसम्म रोग नसरोस् भनेर अपनाउनुपर्ने सावधानी अपनाउनु नै पर्छ ।


अघिल्लो